अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण गरिएको छ। बीबीसीका अनुसार ट्रम्पले मलेशिया, जापान र दक्षिण कोरियामा व्यापार सम्झौता, लगानीको वाचा र आदरपूर्ण स्वागत प्राप्त गरेका छन्।
जापानले पाँच सय पचास अर्ब अमेरिकी डलरको लगानी घोषणा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको छ भने दक्षिण कोरियाले उहाँलाई उच्च राष्ट्रिय पदक र ‘पिसमेकर’ सम्मान प्रदान गरेको छ।
भ्रमणको मुख्य क्षण अन्तिम दिन चीनका राष्ट्रपति सी जिनपिङसँग भएको भेटलाई मानिएको छ। उक्त भेटमा दुबै नेताले व्यापार तनाव घटाउने सहमति जनाएका छन्। यस क्रममा अमेरिकाले केही कर दर घटाएको छ भने चीनले अमेरिकी कृषि तथा ऊर्जाजन्य वस्तु खरिद पुनः सुरु गर्ने वाचा गरेको छ।
विश्लेषकहरूका अनुसार, ठूला उपलब्धि नभए पनि दुवै देशबीचको सम्बन्ध सुधारउन्मुख देखिएको छ। ट्रम्पले यात्रालाई ‘अद्भुत’ बताउँदै फर्किए पनि, विश्लेषकहरूले यो भ्रमण अमेरिकाको होइन, ट्रम्पको व्यक्तिगत प्रभाव देखाउने प्रयास भएको टिप्पणी गरेका छन्।

