बझाङ- बझाङमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्ने व्यक्ति मष्टा गाउँपालिका–२ स्थित ढँडार आधारभूत विद्यालयका शिक्षक तथा मष्टा–४ बास्तोलीका करिब ४५ वर्षीय मोतीराम थापा भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
शिक्षक थापा असोज २९ गतेदेखि घर नआएका र कार्तिक १ गते साँझ आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको घट्टेखोलामा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार घट्टेखोलास्थित पानी घाँटीभन्दा तल उनको आधा शरीर खोलामा डुबेको अवस्थामा भेटिएको थियो। टाउको जनावरले टोकेको जस्तो देखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

