बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सुरु भएसँगै जिल्लामा मतदाता र उम्मेदवारको विषयमा चर्चा बढेको छ।
बैतडीमा महिला मतदाताको संख्या पुरुषभन्दा एक हजार ७३९ ले बढी छ। कुल एक लाख ४० हजार २०१ जना मतदातामध्ये महिला ७० हजार ९६९ र पुरुष ६९ हजार २३० जना रहेका छन्। तर, अहिलेसम्म प्रमुख राजनीतिक दलहरूले प्रतिनिधि सभामा महिला उम्मेदवारलाई अवसर दिन सकेका छैनन्।
जिल्लाको जनगणना तथ्याङ्कअनुसार पनि महिलाको संख्या पुरुषभन्दा बढी छ। २०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ४२ हजार १५७ मध्ये महिला एक लाख २८ हजार २९३ र पुरुष एक लाख १३ हजार ८६४ जना रहेका छन्। यस आधारमा महिलाको संख्या पुरुषभन्दा १४ हजार ४२९ ले बढी भएको हो।

