हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ।
आज बिहानै घर–घरमा विधिपूर्वक कलश, दियो र गणेश स्थापनासहित दुर्गा देवीको आह्वान गरी पूजा आरम्भ गरिएको छ। पूजा कोठा वा दशैँ घरमा गाईको गोबरले लिपपोत गरी राखिएको स्थानमा जौ रोपेर जमरा राख्ने परम्परा छ। दुर्गाको प्रिय वस्तु मानिने जमरा विजयादशमीका दिन टीका–प्रसादसँगै ग्रहण गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन, तर कतिपय कुलपरम्पराअनुसार अन्य अन्न पनि रोप्ने गरिन्छ।
यस वर्ष घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहेको समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सूर्योदयकालमै घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यता छ।
यस वर्ष विजयादशमी असोज १६ गते परेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ९ः२३ बजे र टीका–प्रसाद ग्रहणको उत्तम साइत ११ः५३ बजे छ। कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने परम्परा छ।
कोजाग्रत पूर्णिमाको दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बस्ने, रातभर जाग्राम गर्ने र ऐश्वर्य प्राप्तिको कामना गर्ने परम्परा रहँदै आएको छ। यस दिनसम्म घरमा राखिएको जमरा विसर्जन गरिन्छ।

