काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै सक्रिय रहेकाले वर्षाको गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार बिहान कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो एक घन्टामा डडेलधुराको गाइबन्धेमा २०.६ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा १८.८ मिलिमिटर र डडेलधुराको जोगबुढामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ। बैतडी, अछाम, सुर्खेत, सल्यानलगायत जिल्लामा पनि निरन्तर वर्षा भइरहेको छ।
मौसमविद्हरूका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। यस अवधिमा पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षा, साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
राति पनि देशभर बदली रहने पूर्वानुमान छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुने र मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

