कञ्चनपुर- जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी फेरि अपराधमा संलग्न भएको खुलेको छ।
दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनारलाई बलात्कार प्रयासको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी खडकबहादुर खत्रीका अनुसार बुधबार राति खाना खाएर सुतेकी ५० वर्षीया महिलामाथि जबरजस्ती गर्ने प्रयास गरेका सुनार पीडित महिला चिच्याएपछि भागेका थिए। पछि स्थानीयले खेतमा लखेटी पक्रेर इलाका प्रहरी कार्यालय दोधारामा बुझाएका थिए।
सुनार यसअघि पनि बलात्कार अभियोगमा पक्राउ परेका थिए। अदालतले उनलाई दोषी ठहर गर्दै नौ वर्ष कैद सजाय सुनाएको थियो र पछिल्ला दुई वर्षदेखि उनी कञ्चनपुर कारागारमै सजाय भुक्तान गरिरहेका थिए। तर, जेनजी आन्दोलनकै अव्यवस्थामा कारागार तोडफोड भएपछि उनी फरार भएका थिए।
कारागार प्रशासनका अनुसार कञ्चनपुर कारागारमा रहेका ४७९ मध्ये अधिकांश कैदी भागेका थिए। हालसम्म ४५ जना पक्राउ भइसकेका छन् भने कारागारमा अहिले ६६ जना मात्रै कैदीबन्दी रहेका छन्।

