बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केदारस्यूँ गाउँपालिका– १ देउरामा निर्माण भइरहेको अत्याधुनिक प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको हो।
हाल सम्म सुविधा सम्पन्न जिल्लामै सबैभन्दा ठूलो पाँचतले प्रशासनिक भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पालिकाले जनाएको छ । भवन निर्माणको भौतिक कार्य सबै सकिएको छ भने लिप्ट जडान र फलामे सिडि जडान कार्य बाँकी रहेको गाउँपालिकाका सब-इन्जिनियर लोकराज पाण्डेले कामना टुडेसँग बताए ।
दुई वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरि एल.बि एण्ड एबी बुल्डर्सर प्रालि धनगढी कैलालीले २०७९ मंसिर २१ गते ६ करोड ८० लाख ४५ हजार ३ सय ३२ रुपैयाँ ८८ पैसामा जिम्मा लिएको थियोे । तर निर्माण कम्पनीले तोकिएको समयमा भवन निर्माण गर्न नसकेपछि दुई पटक म्याद थपको माग गर्दै अहिले निर्माण कार्य अन्तिम चरणमा पुर्याएको हो । कम्पनीले २०८१ मंसिर २१ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि सो समय काम पूरा नहुँदा २०८२ असार मसान्तसम्म म्याद थपको माग गरेको थियोे । उक्त समयमा पनि निर्माण कार्य सम्पन्न गर्न नसक्दा फेरि असोज मसान्तसम्मको समय मागेर कम्पनीले निर्माण कार्य गरिरहेको जनाइएको छ।
यता निर्माण कम्पनीका इन्जिनियर अमुल बस्नेतले भने संघीय सरकारबाट आउने बजेट समयमै भुक्तानी नहुँदा निर्माण कार्यमा ढिलाइ भएको बताए । उनलेे भने आवश्यक परेको समयमा बजेट भुक्तानी भएन् त्यसकारण निर्माण कार्यमा ढिलाइ भएको हो । त्यस्तै थ्रिपेज लाइन विद्युत नहुँदा समेत ढिलाइ भएको उनको भनाइ छ। थ्रिपेज लाइनको विद्युत आवश्यक परेको बेला उपलब्ध भएन त्यसैले भवनमा हाइमास्क लाइट जडान र इमर्जेन्सी सिडी निर्माण गर्न सकिएन , एक हप्ता अघि उक्त लाइनको विद्युत जडान भएको छ, दसैं अघि नै काम सक्ने गरि काम भइरहेको समेत इन्जिनियर बस्नेत बताए ।
सम्झौता भएको सो रकममा ३० लाख भ्यारेसन अर्डर( भिओ) थप गरिएको थियोे । थप गरिएको रकम सहित पालिकाको प्रशासनिक भवन निर्माणको जम्मा लागत ७ करोड १० लाख ४५ हजार ३ सय ३२ रुपैयाँ ८८ पैसा रहेको छ ।
हालसम्म ६ करोड ६८ लाख ३ हजार ३५ रुपैयाँ ८३ पैसा रकम भुक्तानी भइसकेको र बाँकी रकम काम सम्पन्न भएपछि भुक्तानी हुने सब-इन्जिनियर पाण्डेले जानकारी दिए ।
पालिकाले अहिले वडा नं १ को प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ।
पालिकाको आफ्नै भवन नहुँदा कार्यालय सञ्चालन गर्न निकै कठिनाइ भोग्दै आउनु परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले बताए । उनका अनुसार पुरानो र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्नुपर्दा जनप्रतिनिधि कर्मचारी र सेवाग्राही तीनै पक्षलाई सास्ती भोग्नुपरेको छ। विषयगत शाखा सञ्चालन गर्न समेत कोठा नहुँदा एउटै ठाउँ धेरै शाखा राख्नुपर्ने बाध्यता छ ।
पालिकाको आफ्नै भुकम्प प्रतिरोधी र जनमैत्री सुविधा सम्पन्न भवन बनेपछि सेवा प्रवाहमा सहजता, प्रभावकारी , गुणस्तरीय हुने निमित्त प्रमुख प्रशासकीय अध्यक्ष भट्टले भनाइ छ ।
उनलेे भने भवन निर्माणको कार्य अन्तिम चरणमा छ , केही दिनमै सम्पन्न हुन्छ, दसैं सम्म आफ्नै भवनमा सर्ने तयारीमा छौ ।
पाललिका आफ्नै भवनमा सरेपछि सेवा छिटो छरितो हुने छ भने प्रत्येक शाखा तथा सेवा इकाई अलग्गै सेवा प्रवाह गर्नेछन् ।
पालिकाको भवनमा संघीय सरकारको ६० प्रतिशत लगानी र पालिकाको ४० प्रतिशत लगानी रहेको छ ।

