बझाङ- सरकारले सेवा प्रवाहमा सहज ल्याउन बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बझाङको देउरा सहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ। प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ।
बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने भन्ने खबर आएपछि केही समय अघि झोताबासीले झोतामा इलाका प्रशासक कार्यालय हुनुपर्ने माग राखेका थिए । नापी पालपोत कार्यालय झोता भएको र इलाका प्रशासन कार्यालय पनि झोतामै हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए । केहीले व्यक्तिले भने भूगोलका हिसाबले सबैलाई पायक पर्ने देउरा भएकाले देउरामा नै इलाका प्रशासन कार्यालय हुनुपर्ने माग गर्दै आएका थिए । अन्ततः सरकारले इलाका प्रशासन कार्यालय देउरामै स्थापना गर्ने निश्चित गरेको छ ।
दरबन्दी नबढाई विद्यमान स्रोत प्रयोग गर्ने योजनासहित देशभरी २३ वटा इलाका प्रशासन कार्यालय खोल्ने तयारी भएकोमा सुदूरपश्चिम प्रदेशमा छ वटा परेका हुन् ।
बाजुरामा इलाका प्रशासन कार्यालय कोल्टी, अछाममा इलाका प्रशासन कार्यालय साफेबगर, डोटीमा इलाका प्रशासन कार्यालय विपिनगर, दार्चुलामा इलाका प्रशासन कार्यालय गोकुलेश्वर र बैतडीमा इलाका प्रशासन कार्यालय मेलौली थप्ने योजना गृहको छ ।
गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो।
सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।
आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ। नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा दिँदै आएका गृहमन्त्री रमेश लेखकले नागरिकलाई सहज र सरल सेवा प्रवाहमा विशेष जोड दिएका छन्।
देशका कुन कुन ठाउँमा थपिँदै छन् इलाका प्रशासन कार्यालययो हेर्नुस्


