काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानहरू र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले सम्भावित वर्षाका कारण आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

