काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीज आज सनातन धर्मावलम्बी महिलाले उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाइरहेका छन्। बिहानै स्नान गरी निराहार, जलाहार वा फलाहार गरी व्रत बस्ने र साँझ उमामहेश्वरको पूजा–कथा गर्ने परम्परा छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले कठिन तपस्यापछि महादेवलाई वर पाएकी थिइन्। त्यसैले विधिपूर्वक तीज व्रत बस्दा मनोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ। विवाहिताले पति–सन्तानको सुस्वास्थ्य र सौभाग्यका लागि, अविवाहिताले असल पतिको प्राप्तिका लागि यो व्रत बस्ने चलन छ।
पशुपतिनाथ, गोकर्णेश्वर, कुम्भेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा आज श्रद्धालुको घुइँचो लागेको छ। तीजको अघिल्लो दिन ‘दर’ खाने, दिदीबहिनीहरू माइती घरमा भेला भई नाचगान गर्ने र दुःख–कष्ट पोख्ने परम्परा पनि जीवित छ।

