काठमाडौं- देशभर आज दिनभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा पर्न सक्ने सम्भावना छ।
महाशाखाका अनुसार देशका पहाडी भागका केही ठाउँमा र तराईका थोरै ठाउँमा मध्यम वर्षा हुने देखिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्र तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा दिउँसो ठूलो पानी पर्ने अनुमान गरिएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेकाले आज मनसुन गतिविधि केही बढ्ने देखिएको मौसमविद्हरूले बताएका छन्। गएराति र हिजो बेलुका काठमाडौं उपत्यकासहितका केही स्थानमा ठूलो पानी परेको थियो।
आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने ठूलो वर्षा पर्नसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले मध्यम तथा ठूलो वर्षाको सम्भावना रहेको क्षेत्रमा नदी तटीय तथा होचाभागमा सतर्कता अपनाउन आग्रह गरेको छ।

