काठमाडौँ- रुसले आफ्नो ‘भेनेरा–डी’ अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ। यसका लागि तयारी कार्यहरू सुरू भइसकेको चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ।
यो परियोजना रुसको नयाँ राष्ट्रिय अन्तरिक्ष कार्यक्रमको हिस्सा हो। स्पेस रिसर्च इन्स्टिच्युट (आईकेआई) का ग्रह भौतिक विज्ञान विभाग प्रमुख ओलेग कोराबलेभका अनुसार प्रारम्भिक डिजाइन कार्य सन् २०२६ जनवरीदेखि सुरू हुनेछन्।
मस्यौदा डिजाइन चरण पूरा गर्न झन्डै दुई वर्ष लाग्ने अनुमान छ। यस अवधिमा लाभोच्किन एसोसिएशनसहित रुसी अन्तरिक्ष उद्योगका अन्य संस्थासँग सहकार्य गर्दै विभिन्न समन्वय बैठकमार्फत परियोजना अघि बढाइने उल्लेख छ।
डिजाइन चरण सम्पन्न भएपछि मात्रै प्रक्षेपणको मिति निर्धारण गरिनेछ। भेनेरा–डी मिसनमा ल्यान्डर, बेलुन प्रोब र कक्षीय अन्तरिक्ष यान रहने योजना गरिएको छ।

