डडेल्धुरा- श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार अमरगढी नगरपालिका–८ स्थित उग्रतारा मन्दिर परिसरमा सरसफाइ गरिएको छ।
युवा अगुवाहरूको पहलमा आयोजित कार्यक्रममा स्थानीय वासिन्दा, समाजसेवी, युवाहरू र भक्तजनहरूको सक्रिय सहभागिता रहेको थियोे । सहभागीहरूले मन्दिर वरपरको फोहर हटाउने, प्लास्टिक संकलन गर्ने र वातावरण स्वच्छ राख्ने काम गरेका हुन् ।
कार्यक्रमका क्रममा युवा अगुवा तारा भट्टले मन्दिरलाई आस्था र सम्पदाको धरोहर भन्दै यसलाई सफा राख्नु सबैको जिम्मेवारी भएको बताए। उनले सुरु भएको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सरोकारवालाले धार्मिक स्थल मात्र नभई सार्वजनिक स्थलहरूलाई पनि सफा राख्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले “जय माता उग्रतारा” उद्घोष गर्दै वातावरण संरक्षण र धार्मिक स्थलको महत्त्व जोगाउन सबैलाई आह्वान गरे।

