काठमाडौँ– मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टामा मनसुन पूर्वी भूभागको तुलनामा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले हाल देशभर पूर्णतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
आज राति पनि पहाडी भूभागमा सामान्य बदली रहनेछ। गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले भूक्षय, बाढी, पहिरो, गेग्रान बहाव र सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

