धनगढी- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित देशका अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

