धुर्व बिष्ट, बझाङ- बझाङको बुङ्गल नगरपालिका–४ मा अवस्थित खिरातडी स्वास्थ्य चौकीले पहिलो पटक एक व्यक्तिमा औलो रोग (मलेरिया) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य संस्थामा उपचारका लागि आएका बुङ्गल नगरपालिका–१० का एक पुरुषको रगत परीक्षण गर्दा उनलाई औलो संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार बिरामी चार महिना अघिमात्रै भारतबाट फर्केका थिए, त्यसैले यस संक्रमणलाई आयातीत (imported) केसको रूपमा समेत लिन सकिने बताइएको छ।
लामखुटेको टोकाइबाट सर्ने यो रोग सामान्यतया सहरी क्षेत्र, घना बस्ती तथा तराईका जिल्लाहरूमा देखिने गरे पनि पछिल्ला वर्षहरूमा अव्यवस्थित फोहोरमैला, ढल निकासको अभाव र बढ्दो बजारीकरणका कारण ग्रामीण क्षेत्रहरूमा समेत फैलिन थालेको जनाइएको छ।
बझाङ जिल्लामै दोस्रो पटक औलो पुष्टि भएको यस घटनाले लामखुटेको सङ्क्रमण विस्तार ग्रामीण बस्तीहरूमा समेत देखिन थालेको पुष्टि गरेको शाखा प्रमुख जोशीले बताए। उहाँका अनुसार औलो रोगबाट बच्न घर वरिपरिको पानी जम्ने खाल्डाखुल्डी पुर्नु, झाडी हटाउनु र सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ। विशेष गरी असारदेखि असोज महिनासम्म लामखुटे सक्रिय रहने भएकाले पुरा बाहुला भएका कपडा लगाउने, लामखुटे बढी हुने स्थानमा जानबाट जोगिने र व्यक्तिगत सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिइएको छ।
संक्रमित व्यक्तिको अवस्था हाल सामान्य रहेको र उहाँलाई खिरातडी स्वास्थ्य संस्थामै राखेर उपचार भइरहेको जनाइएको छ। यद्यपि औलोको औषधि प्रयाप्त मात्रामा नभएकाले जिल्ला अस्पताल सिमखेत, चैनपुरबाट मगाइएको ल्याब असिस्टेन्ट रमेश धामीले जानकारी दिनुभयो।
स्वास्थ्य उपकरण सीमित भए पनि खिरातडी स्वास्थ्य संस्थाले उपलब्ध स्रोत साधनको भरपुर उपयोग गर्दै विभिन्न चुनौतीहरूबीच पनि स्वास्थ्य क्षेत्रमा सन्तोषजनक सेवा दिँदै आएको छ।

