डडेलधुरा- डडेल्धुराको आलिताल गाउँपालिका–१ फिन्नेगडा मेलखर्कका ७० वर्षीय देवबहादुर बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको छ।
साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएपछि उनी बिरामी परेका थिए। तर उनलाई दुई दिनपछि मात्र अस्पताल पुर्याइएको आफन्तहरूले जनाएका छन्।
शरीरमा विष फैलिँदै गएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। अवस्था जटिल भएपछि साउन ९ गते उनलाई डडेलधुरा अस्पताल ल्याइएको थियो। आईसियुमा राखेर उपचार प्रयास गरिएको भए पनि अवस्था सुधार नहुँदा मंगलवार साँझ उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दले जानकारी दिए।

