काठमाडौं- आज श्रावण शुक्ल पञ्चमीका दिन परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व देशभर श्रद्धा एवं भक्तिभावका साथ मनाइँदै छ। घरको मूलढोकामा नागको प्रतीकस्वरूप तस्बिर टाँसी, पूजाआजा गर्ने चलन वैदिक सनातन परम्परादेखि निरन्तर रहिआएको छ।
धार्मिक विश्वासअनुसार, नागको पूजा गर्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने तथा अग्नि, चट्याङ र मेघको भयबाट रक्षा हुने जनविश्वास रहिआएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, प्रत्येक घरको जगमुनि नाग हुने विश्वास गरिएको छ। यदि नाग रिसाएमा घरको जग नै कमजोर हुने भन्दै पूजापाठ गर्ने परम्परा रहेको उनले बताए।
नागको धार्मिक महत्त्व
नागलाई वैदिक सनातन परम्परामा भगवान् विष्णु र शिवको प्रतीकका रूपमा पूजिन्छ। शिवले गला र शरीरमा नाग धारण गर्ने तथा विष्णुले शेषनागको शय्यामा शयन गर्ने धार्मिक वर्णन पुराणमा पाइन्छ।
श्रीगणेशको हातमा रहेको नाग, भगवान् श्रीरामका भाई लक्ष्मण र श्रीकृष्णका दाजु बलरामलाई शेषनागको अवतार मानिन्छ। यी सबै पात्रहरू सज्जनको रक्षाका लागि जन्मिएको मान्यता छ।
नागकन्याहरूसँग अर्जुन र चन्द्रगुप्त द्वितीयको विवाह भएको प्रसङ्गसमेत धर्मशास्त्रहरूमा उल्लेख छ। त्यस्तै, जहाँ नागको पूजा हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास पनि समाजमा गहिरो रूपमा रहिआएको छ।
नागपञ्चमी मनाउने किंवदन्ती
पर्व मनाउने परम्परासँग जोडिएको एक प्रसिद्ध किंवदन्ती अनुसार, एक किसानले खेत खनिरहेका बेला नागका तीन बच्चा मार्छ। आहाराको खोजीमा बाहिर गएकी नागिनी फर्किएर आफ्ना सन्तान मरेको देखेपछि रिसमा किसान, उनकी श्रीमती र दुई छोराको हत्या गर्छिन्।
बाहिर भएकी छोरी भने बाँच्छिन्। नागिनीले उनलाई समेत मार्न खोज्दा उनले पूजाआजा गर्ने बिन्ती गर्छिन्। श्रद्धाबाट प्रसन्न भएर नागिनीले उनको परिवारलाई जीवनदान दिन्छिन्। त्यो दिन श्रावण शुक्ल पञ्चमी भएकाले सोही दिनदेखि नागपूजाको परम्परा चलेको मानिन्छ।
अन्य धार्मिक मान्यताहरू
गुरु गोरखनाथले नौ नागको आसनमा बार्हवर्षीय तपस्या गरेपछि वर्षा रोकिएको र गुरु मत्स्येन्द्रनाथ नेपाल आएसँगै वर्षा सुरु भएको विश्वास पनि छ। नागको टाउकामा रहेको मणि संसारकै अमूल्य मानिन्छ।
नागलाई सङ्गीत र श्रीखण्डको सुगन्ध प्रिय हुने धार्मिक मान्यता छ। वर्षाको चिसो वातावरणले गर्दा उनीहरू आजको दिन दुलोबाट बाहिर निस्कने विश्वास रहिआएको छ।
नागका बाह्र नाम भए पनि आठ कुलका आठ नाग — अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख — को पूजा आज विशेष रूपले गरिन्छ।
ब्राह्मण पुरोहितबाट विधिपूर्वक पूजाआजा गरी घरको ढोकामा नागको चित्र टाँस्ने, आजको दिन खनजोत नगर्ने र सर्प, नागलगायत घिस्रने जीव मार्न नहुने धार्मिक परम्परा रहिआएको छ।

