काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ।
यसको प्रभावस्वरूप हाल देशभर सामान्य बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।
दिउँसोको पूर्वानुमान
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।
रातिको पूर्वानुमान
आज राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
लुम्बिनी प्रदेश तथा अन्य पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

