काठमाडौं- दार्चुला र बझाङ जिल्लामा वर्षा भएको छ। दार्चुलास्थित चमेलिया नदीको जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्र तथा डुबानको जोखिमयुक्त होचा स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
बझाङको बौलीगाड खोलामा समेत जलसतह सतर्कता तह नजिक पुगेको छ। खोला आसपासको क्षेत्रमा पानीको सतह बढ्दो रहेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन भनिएको छ।
यसैगरी, गएराति बर्दियाको दौलतपुर वर्षामापन केन्द्र र वरपरको क्षेत्रमा पनि भारी वर्षा भएको महाशाखाले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको महाशाखाको जानकारी छ। पहाडी भूभागमा मौसम सामान्यतया बदली भएको छ।
आज बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना छ भने राति देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी र सुदूरपश्चिमसहित देशका केही पहाडी क्षेत्रमा चट्याङसहित मध्यम खालको वर्षा हुन सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

