दार्चुला- दार्चुलामा नौगाड गाउँपालिका बाहेकका अन्य आठ स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट रोकिएको छ।
नापी कार्यालय दार्चुलाका प्रमुख टिकेन्द्रसिंह धामीका अनुसार भू–उपयोग क्षेत्र वर्गीकरण नगरेका कारण ती पालिकाहरूमा कित्ताकाट बन्द गरिएको हो।
भू–उपयोग ऐन, २०७६ र नियमावली, २०७९ को नियम ५ अनुसार प्रत्येक स्थानीय तहले भू–उपयोग परिषद् गठन गरी आफ्नो क्षेत्रमा भू–उपयोगको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ।
सरकारले भू–उपयोग नियमावली २०७९ को दोस्रो संशोधनमार्फत पालिकाहरूलाई वर्गीकरणका लागि २०८२ असारसम्मको समय दिएको थियो। तर, तोकिएको समयभित्र नौगाड गाउँपालिका बाहेक अन्य कुनै पनि पालिकाले वर्गीकरण प्रक्रिया पूरा नगरेको नापी कार्यालयले जनाएको छ।

