काठमाडौँ- काठमाडौँको मुटुमा रहेको पशुपति क्षेत्र — एक यस्तो स्थान जहाँ आस्थाको ध्वनि नित्य गुञ्जिरहेको हुन्छ, जहाँ दिनभर भक्तजनहरू भगवान पशुपतिनाथको दर्शनमा लीन हुन्छन्। भजनको मधुर स्वर, घण्टीको ताल, आराधनाको स्पर्श, र भावनाको गहिरो बहाव त्यहाँ पाइन्छ। तर, त्यो आराधनाको घेराभित्रै अर्कै संसार पनि छ, जुन हेर्दा मनमा गहिरो पीडा र चिन्तन जाग्छ।
त्यहीँ कतै छेउमा कोही भेटघाटमा रमाइरहेका छन्, रमाईलो गर्दै तस्बिर खिच्न व्यस्त छन्। सेल्फी र स्मृति टिप्न तल्लीन छन्। अरू कोही चाहिँ व्यापारिक झोला बोकी दैनिक जीविकाका लागि पसिना बगाइरहेका छन् — कपाल बनाउने, माला बेच्ने, प्रसाद सजाउने, धूप बाल्नेहरू। उनीहरूको अनुहारमा विश्वास छ, तर थकान लुकेको छ।
तर, ती रमाइला दृश्यहरूसँगै त्यही ठाउँमा अझै गहिरो पीडा पनि पसारिएको हुन्छ।
त्यसै बिच कतै कसैको हात छैन, कसैको खुट्टा छैन – उनीहरू लाचार छन्, तर हिम्मत बाँकी छ। कोही स्त्री काखमा शिशु च्यापेर, एउटै हात फैलाएर गुहार मागिरहेकी छन्। पापी पेट पाल्नको लागि उनीहरूको आत्मसम्मान साँघुरिएको छ।
कोही वृद्ध – आँखामा शून्यता, शरीरमा थकान, तर हात फैलाएर जीवनको बाँकी सास धान्न खोजिरहेका छन्।
तिनै पवित्र आराधनाको परिसरमा ती मानिसहरू पनि छन्, जो आँखा नदेख्ने भए तापनि काँधमा साना सामान राखेर “रोजी” खोजिरहेका छन्।
शरीर त उनका पनि हुन्छ, आत्मा पनि होला तर त्यो शरीर निरन्तर जलिरहेको देखिन्छ — ठूलो रापमा, भोकको तापमा, तिरस्कारको तापमा। यस्तै कयौं भगवान् को प्रिय भएर लास जलिरहेका छन् ।
यहाँ यस्तो अनुभूति हुन्छ, जस्तो एउटा ठाउँमा संसारका सबै रंगहरू – श्रद्धा, भक्ति, व्यापार, रमाइलो, बिचलन र बेदना – एकैचोटि मिसिएको होस्। यो त्यो ठाउँ हो, जहाँ मान्छेहरू आशाको उज्यालो खोज्दै आएका छन्, तर कतिपयका लागि त्यो उज्यालो अझै टाढा टल्किरहेको हुन्छ।

