बझाङ- बझाङको दुर्गाथली गाउँपालिका–६ चुवाबनमा रहेको सुर्योदय माध्यमिक विद्यालयको फिल्ड निर्माणका क्रममा आर्थिक अनियमितता भएको खुलेको छ।
२०८० चैत ८ गते विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको आन्तरिक कोषबाट फिल्ड निर्माण गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार निर्माण कार्य सम्पन्न गरिए पनि खरिद गरिएका सामाग्रीको भुक्तानी अहिलेसम्म गरिएको छैन।
सामाग्री खरिदका क्रममा एउटै मितिको दुई फरक बिल प्रस्तुत गरिएको भेटिएको छ। पूर्व वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धीरजबहादुर जाग्रीले एउटै मितिमा एउटै सामग्रीका लागि दुई फरक रकम उल्लेख गरी बिल तयार पारी अनियमितता गर्न खोजेको आरोप लागेको छ।
एउटा हार्डवेयर बाट मिति २०८१ वैशाख २१ गते बिल नं. ९६७ अनुसार ग्याबियन ३ लाख २० हजार, ग्याबियन तार ९ हजार ५ सय, ट्र्याक्टर भाडा १४ हजार र लोडिङ १ हजार ६ सय रुपैयाँसहित कुल ३ लाख ४५ हजार १ सय रुपैयाँ बराबरको सामान खरिद गरिएको उल्लेख छ।

तर सोही दिनको बिल नं. ९८४ मा भने ग्याबियनको मूल्य ३ लाख ८४ हजार राखिएको छ। अन्य विवरण जस्तै ग्याबियन तार, ट्र्याक्टर भाडा र लोडिङ रकम उही राखिए तापनि कुल बिल रकम ४ लाख ९ हजार १ सय रुपैयाँ देखाइएको छ।

यसरी दुई बिलबीच ६४ हजार रुपैयाँको फरक देखिन्छ।
विद्यालय व्यवस्थापन समितिका एक पदाधिकारीका अनुसार अध्यक्ष जाग्रीले जानाजान दुई फरक बिल तयार गराई ६४ हजार रुपैयाँ बढी प्रस्तुत गरेका छन्। यही विषय अहिले गाउँघरमा व्यापक चर्चा र शंका–उपशंका बनेको छ।
समितिका सदस्य दलबहादुर धामीका अनुसार निर्माणमा काम गरेका मजदुरले अहिलेसम्म पारिश्रमिकसमेत पाएका छैनन्। अर्कोतर्फ, विद्यालयले सामाग्री खरिदको रकम पनि पूरै तिर्न सकेको छैन।
वडाध्यक्ष जयबहादुर महतले कामना टुडेसँगको कुराकानीमा भने, “हार्डवेयरले रकम माग्यो, हामीले बिल ल्याउन भन्यौं। ल्याएको बिलमा ३ लाख ४५ हजार १ सय देखियो तर विद्यालयमा ४ लाख ९ हजार १ सय रुपैयाँको बिल देखियो। सामान एउटै हो, फरक बिल कहाँबाट आयो भनेर सोध्दा अध्यक्षले ल्याएको हो भन्ने जवाफ प्रअले दिनुभयो।”
प्रधानाध्यापक जयबहादुर जाग्रीका अनुसार विद्यालयमा पेश भएको बिल र हार्डवेयरले दिएको वास्तविक बिलमा ६४ हजारको अन्तर देखिएपछि सो रकम तिरेको छैन। “विद्यालयमा आएको बिलअनुसार तिरेको हुँ। ६४ हजारको फरक देखिएपछि त्यो मैले खल्तीबाट हाल्नुपर्ने अवस्था भयो, त्यसैले तिरेको छैन,” उनले भने। साथै, आफूले कुनै गल्ती नगरेको र गल्ती गर्ने व्यक्तिको कारबाही हुनुपर्ने मागसमेत उनले राखेका छन्।
यसबारे बुझ्न विद्यालय व्यवस्थापन समिति अध्यक्ष धीरज जाग्रीसँग सम्पर्क गर्दा उनले आफूले सही बिल दिएको दाबी गर्दै थप जानकारीका लागि हार्डवेयरसँग बुझ्न सुझाव दिए। हार्डवेयरले भने आफूलाई विद्यालयबाट जम्मा ३ लाख ४५ हजार १ सय रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिएको छ। दुई वटा बिल फेला परेको छ , किन दिनु भयो दुई बिल भन्दा प्यान बिल हो कसैले मागेर लग्यो होला थाहा भएन भन्ने जवाफ आयो ।

