कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका बासिन्दा जंगली हात्तीको आतंकबाट त्रसित भएका छन्। साउन २ गते मध्यरातमा एउटा हात्तीले मन्सरादेवी साउदको घर भत्काई अन्नपात सखाप पारेपछि त्रास झनै बढेको हो।
मन्सरा साउदका अनुसार राति १ बजे घरको पर्खाल हल्लिएपछि उनी छोरासहित भागेर छिमेकीकहाँ शरण लिइन्। हात्तीले घर भत्काएर भित्रको खाद्यान्न खाएर बाँकी नष्ट गरेको उनले बताइन्।
छिमेकी देवकी भट्टका अनुसार हात्तीले मन्सराको घरमात्रै तोडफोड गर्छ, वरिपरिका घरलाई छुँदैन। गत वर्ष पनि मन्सराकै खेतको धान सखाप बनाएको थियो। यस्तै, केही दिनअघि मणि साउदको घरमा पनि हात्तीले क्षति पु¥याएको छ।
स्थानीय गौरी साउदले बस्तीमा सडकबत्ती नहुँदा राति खतरा थपिएको बताइन्। अँध्यारोमा हात्ती आएको थाहा नहुने र क्षति भएपछि मात्र जानकारी हुने भएकाले ज्यान जोगाउन गाह्रो हुने गरेको छ।
ऐश्वर्या सामुदायिक वनको सीमामा पर्ने बस्तीमा हात्ती बारम्बार पस्ने गरेको छ। वन अध्यक्ष ईश्वर बुढाका अनुसार हात्तीले खानेपानी पाइप समेत तोडेपछि करिब ४० परिवार पानीबाट वञ्चित भएका छन्।
स्थानीयले रातभर आगो बालेर हात्ती भगाउने गरेका छन्। हात्ती नियन्त्रणका लागि मेसवायर, पर्खाल वा चेतावनी प्रणालीको व्यवस्था आवश्यक रहेको माग उनीहरूको छ।

