काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तथा मध्य नेपालमा सामान्यभन्दा उत्तरतिर, र पूर्वी भागमा सरदर स्थानको आसपासमा रहेको छ।
यसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायतका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो: अधिकांश पहाडी भूभागमा तथा केही अन्य स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती तथा गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातसहितको वर्षा हुन सक्नेछ।
राति: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
सावधानी: कोशी, बागमती, गण्डकीलगायत पहाडी क्षेत्रहरूमा भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

