काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसमेत देशमा परेको छ। मनसुनको न्यूनचापीय रेखा औसत स्थानको नजिकै अवस्थित भएकाले मौसममा व्यापक प्रभाव देखिएको हो।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोको पूर्वानुमानअनुसार, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा केही स्थानहरूमा र अन्य भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
आज रातिको अवस्थाबारे पनि महाशाखाले आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। कोशी प्रदेशका केही स्थानहरू, मधेस प्रदेश तथा देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना यथावत् रहेको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम, साथै शहरी र तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

