कैलाली, असार १६ जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गत इलाका प्रहरी कार्यालय सुखड र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ठूलो मात्रामा लागुऔषध (अफिम) बरामद गरेको छ।
प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१, सुखडस्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट २ किलो ७१४ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा हुम्ला जिल्लाको सुर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्र बहादुर शाही, हाल सोही ठाउँका २७ वर्षीया सालु शाही र रोल्पा जिल्लाको सुनछहारी गाउँपालिका–७ की ३२ वर्षीया पुर्णिमा पुन मगर रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न गिरोहमाथि थप अनुसन्धान जारी छ।

