बझाङ— केदारस्यूँ गाउँपालिका–२ का वडासदस्य एवं गाउँसभा सदस्य कमला रावलको असामयिक निधनप्रति शोक प्रकट गर्दै गाउँपालिकाले एक दिनको सार्वजनिक विदा घोषणा गरेको छ।
२०८१ साल असार १२ गते विहीबार स्व. रावलको निधन भएको सूचना प्राप्त भएपछि गाउँपालिकाले १३ गते शुक्रबार एक दिन शोक विदा दिने निर्णय गरेको हो। गाउँपालिका कार्यालयद्वारा जारी सूचनामा दिवंगत सदस्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै शुक्रवार सम्पूर्ण पालिकाभर शोक विदा दिइने उल्लेख गरिएको छ।
वडासदस्यको निधनले पालिकालाई गहिरो क्षति पुगेको जनाउँदै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। स्व. रावल सामाजिक रूपले समेत सक्रिय, विनम्र र कर्तव्यनिष्ठ जनप्रतिनिधिका रूपमा परिचित थिए।
गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा शोक व्यवस्थापन सम्बन्धमा जानकारी दिन सूचनाको प्रकाशन गरिएको उल्लेख छ।


