धनगढी, असार ८ – राष्ट्रिय युवा संघ नेपाल र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ धनगढीमा सुरु भएको छ। विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनःस्थापनाका क्षेत्रमा युवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित सात दिने तालिम सुरु गरिएको हो।
तालिम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव अरुण कुँवरको समन्वयमा सञ्चालित छ। तालिमको पहिलो दिन आज सशस्त्र प्रहरी बल, ३४ नम्बर गण नेपाल, कैलालीको परिसरमा विविध विषयमा व्यवहारिक प्रशिक्षण दिइयो।
उद्घाटन कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल कैलालीका प्रमुख सुरेन्द्र राज रञ्जितले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तथा कैलाली जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोगन बहादुर हमाल उपस्थित थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बालनरसिंह राणा, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव अरुण कुँवर, केन्द्रीय सदस्य दीपेन्द्र खड्का, तालिम प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रमेश कुमार सारु, निरीक्षक कमल प्रसाद जोशी, तथा सशस्त्र प्रहरीहरू चेतेन्द्र मल्ल, रमेश अवस्थी, कैलाश चौधरी र रवि चौधरीको समेत उपस्थिति थियो।
३० जना युवालाई लक्षित गरी सञ्चालित तालिममा विपद् व्यवस्थापनका विविध पक्षमा व्यवहारिक अभ्यास गराइने आयोजकले जनाएका छन्।
तालिमका सन्दर्भमा केन्द्रीय सचिव कुँवरले भने, “विपद्बाट हुने क्षति न्यूनीकरण र पूर्वतयारीमा युवाको भूमिका महत्त्वपूर्ण हुन्छ। राष्ट्रिय युवा संघ आगामी दिनमा पनि यस्ता सृजनशील तथा जिम्मेवार कार्यक्रमहरू गर्दै जानेछ।”
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि राष्ट्रिय युवा संघले सुरु गरेका यस्ता नवीनतम कार्यले विपद् उत्तरपश्चात् मात्र नभई पूर्वनियोजन र व्यवस्थापनमा समेत उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।

प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखहरूले पनि राष्ट्रिय युवा संघ नेपालको प्रयासले विपद् पूर्व अनुमान, व्यवस्थापन र प्रतिकार्य सबै चरणमा युवाको सक्रिय भूमिका सुनिश्चित गर्ने बताए।

