सो प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको बेला ती सोही बिषयमा अनुसन्धान अधिकृत रहनुभएका पूर्वडिएसपीले यस काण्डमा पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको संलग्नता रहेको तथ्य बाहिर ल्याउनुभएको छ ।
नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्द पन्थीले नयाँ विषयका खुलासा गरिदिनुभएको हो । पन्थीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो वृत्तान्त लेख्दै भिजिट भिसा प्रकरणमा पैसा उठाउने र मानव तस्करी गर्ने गिरोहले आफ्नो सरुवा गराएको कुरा सार्वजनिक गर्नुभएको छ । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा आफ्नो सरुवा भएको पनि उहाँले तथ्य खोल्नुभएको छ ।
पन्थीका अनुसार २०८० को असोज १९ गते १ हजार ६ सय ४१ वटा राहदानीसहितको शङ्कास्पद कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएको थियो । त्यसको प्रारम्भिक अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले थालेको थियो । तर पछि त्यसलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा हस्तान्तरण गरिएको थियो ।
त्यसबेला डिएसपी पन्थी ८ नं पिलरको नेतृत्व हुनुहुन्थ्यो । जसले वैदेशिक रोजगारीका ठगीसम्बन्धी मुद्दाहरू हेर्थ्यो । प्रारम्भमा कागजातहरू ३ नं पिलरमा गएकाले अनुसन्धानमा प्रगति नहुँदा एसएसपी सोमेन्द्र सिंह राठौरको निर्देशनमा पन्थीको टोलीलाई त्यसको अनुसन्धान गर्ने जिम्मा लगाइएको थियो ।
अनुसन्धान भइरहेकै बेला पन्थीको सरुवाका लागि नेपाल प्रहरी र राजनीतिक नेतृत्वकै उच्च तहबाट हस्तक्षेप भएको उहाँले सार्वजनिक गर्नुभएको छ । विमानस्थल अध्यागमनका कर्मचारीले गृह मन्त्रालयका अधिकारीको संलग्नता मानव तस्करी गर्ने गरेको उहाँको दाबी छ । त्यसका लागि दैनिक डेढ करोडदेखि २ करोड रुपैयाँसम्म लिने गरेको आफूले अनुसन्धानको क्रममा पत्ता लगाएको उहाँले उल्लेख गर्नुभएको छ ।
आफूलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन र तत्कालीन आइजिपी वसन्त कुँवरको संलग्नतामा सरुवा गरिएको उहाँले दाबी गर्नुभयो । हालका आइजिपी दीपक थापाले आफ्नो सरुवा रोक्न कोसिस गरे पनि माथिको दबाबका कारण असमर्थ भएको उहाँले खुलासा पनि उहाँले गर्नुभएको छ ।
नारायणकाजी बाहिरिएपछि अर्का गृहमन्त्री रवि लामिछानेलाई पत्र लेखेर आफ्नो सरुवाबारे जानकारी गराएको उहाँले उल्लेख गर्नुभएको छ । आफ्नो सरुवा बदर नभए पनि पहिले कार्यरत कार्यालयमै काम गर्न भनिएको उहाँले त्यसको विवरण आवश्यक परे सार्वजनिक गर्ने उल्लेख गर्नुभएको छ ।
धेरै दलाल र ठुला तस्करीमा संलग्न दुबई र भारत गएर बस्नु पर्यो । त्यस्तो स्थिति सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठुलो थैलीको जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो र किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २, ३ दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको र तत्कालीन आइजिपी वसन्त कुवरको जोड बलमा नै भएको बुझिएपछि एसएसपी सोमेन्द्र सरले रोक्न हालका आइजिपी तत्कालीन मेट्रो प्रमुख दीपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो । जसका कारण सरुवा रोकिएन ।

उहाँले अध्यागमनमा हुने अनियमितता अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र सुशासन ल्याउने हो भने सो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्ने सुझाव दिनुभएको छ । त्यसो गरियो भने एकाधबाहेक सबै गृह मन्त्री, श्रम मन्त्री र प्रधानमन्त्रीको सचिवालयको टोलीसमेत कानुनी कठघरामा उभिनु पर्ने स्थिति आउने उहाँको दाबी छ । ‘तसर्थ साँच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र सुशासन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ, त्यसो गरियो भने एकाध बाहेक सबै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिम समेत कानुनी कठघरामा उभिने छ’, पन्थीले लेख्नुभएको छ ।
पन्थीले भिजिट भिसाको १७ बुँदे मापदण्डलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा नै ६ बुँदे बनाइएको परिणाम नेपाल सरकारले जोखिमयुक्त भनेका देशमा समेत नेपाली कामदार पुगेर अलपत्र परेको तथ्य पनि सार्वजनिक गर्नुभएको छ ।
उहाँले अलपत्र परेर थुनिएका नेपाली चेलीहरूको भिडियो फेसबुकमा राख्दै लेख्नु भएको छ– ‘यसरी हाम्रा दिदी–बहिनीहरू सजिलो गरी कोड भाषा एल र एस मध्ये एल कोड प्रयोग भई सेटिङबाट जोखिमयुक्त नेपाल सरकारले कानुनतः निषेध गरेको स्थानमा यो रूपमा त्यहाँ पुर्याइए, जसको कारण यस्तो हालतमा पुर्याउन मद्दत पुगेको स्पष्ट हुन्छ, यसलाई नीतिगत भ्रष्टाचार भन्ने कि के भन्ने ? छानबिन गरी कारबाही र शीघ्र उद्धार होस् र पीडितले न्याय पाउन् ।’
यस्तो छ उहाँको बयान :
जब मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली एयरपोर्टबाट हट्यो, त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिविधि अगाडि बढायो र शङ्कास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो । त्यस बखत म ८ नं पिलरमा डिएसपीको रूपमा नेतृत्व गर्दै थिएँ । उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाही गर्दथ्यो ।
तसर्थ एयरपोर्टबाट आएका कागजात ३ नं पिलरमा आएँ । उक्त पिलरले ठगी हेर्ने हुँदा स्वाभाविक भयो । एक महिनाको अनुसन्धानमा राहदानी आउने अनि जसको हो उसैलाई फिर्ता दिने कार्य भयो । त्यसबाट अपेक्षित परिणाम नआए पछि तत्कालीन एसपी रवीन्द्र रेग्मी सरले एसएसपी सोमेन्द्रसिंह राठौर सरसँग सल्लाह गरेर उक्त भिजिट भिसा प्रकरण ८ नं पिलरबाट मलाई हेर्न निर्देशन भए पश्चात मेरो जिम्मेवारी तोकियो ।
तत्पश्चात् मेरो नेतृत्वको टोलीले गहिरिएर अनुसन्धान गर्दा सबै नक्कली कागजात तयार गर्ने, काम ल्याउने दलाल, कन्सल्टेन्सी, ट्राभल व्यवसायी, म्यानपावर, होटेल र एयरलाइन्स, अध्यागमन, श्रम विभाग र प्रहरीको केही अधिकारीको मिलेमतोमा ठुलो तस्करी सञ्चालित भएको देखिएपछि मैले अनुसन्धान प्रतिवेदन पेश गरेकोमा तत्कालीन कार्यालय प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनुभएको थियो, तत्पश्चात् २० जना दलाल, २० वटा ट्राभल, ८ कन्सल्टेन्सी, नेता र कर्मचारी गरी ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी, किर्ते र संगठित अपराध मुद्दा चलाइएको थियो ।
उक्त मुद्दालाई संगठितमा लैजान हामीले सरकारी वकिलसँग नोकझोक नै गर्नु परेको थियो । मैले अनुसन्धान गर्दा मलाई अख्तियारमा १६ पाने दोहोर्यउने धम्की पनि नदिइएको हैन । कुनै कुरालाई प्रवाह नगरी पत्रकार सम्मेलनबाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारीको संलग्नतामा मानव तस्करी भएको र दैनिक डेढ करोडदेखि २ करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिएँ ।
जुन कुरा व्यावसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सरको कारणबाट सम्भव भएको थियो । पछि अनुसन्धान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे । उक्त फाइल अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको थियो । दुई वर्ष न भयो बल्ल, आशा गरौँ अनुसन्धान हुँदै होला ।
धेरै दलाल र ठुला तस्करीमा संलग्न दुबई र भारत गएर बस्नु पर्यो । त्यस्तो स्थिति सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठुलो थैलीको जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो र किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २, ३ दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको र तत्कालीन आइजिपी वसन्त कुवरको जोड बलमा नै भएको बुझिएपछि एसएसपी सोमेन्द्र सरले रोक्न हालका आइजिपी तत्कालीन मेट्रो प्रमुख दीपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो । जसका कारण सरुवा रोकिएन ।
पछि तत्काल गृहमन्त्री फेरबदल पश्चात् मैले गृहमन्त्री रवि लामिछानेलाई एउटा पत्र लेखेँ । जसको कारण मेरो सरुवा कानुन त रोकिएन किनकि बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो । तसर्थ मौखिक रूपमा रवाना नगरी त्यही काम गर्न भनियो । मैले लेखेको पत्र पछि सार्वजनिक गर्नेछु ।
तसर्थ साँच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र सुशासन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ । त्यसो गरियो भने एकाध बाहेक कुनै गृहमन्त्री, श्रममन्त्री र प्रधानमन्त्रीको सचिवालय टिमसमेत कानुनी कठघरामा उभिने छ । अहिले सहसचिव तीर्थ भट्टराईलगायत अख्तियारको अनुसन्धानको दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ । अख्तियार प्रमुखज्यूले इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अवसर आएको छ । यो विषय सूक्ष्म र निष्पक्ष अनुसन्धान हुने हो भने ठुलो उथलपुथल हुने निश्चित छ । अवसर लाई सदुपयोग होस्, शुभकामना
नवराज पथिकद्वारा काठमाडौं, ११ जेठमा जनता टाइम्समा प्रकाशित समाचार

