काठमाडौँ— भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै पाँचौं जित दर्ता गरेको छ । यससँगै मुम्बई १० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ ।
हिजो भएको खेलमा हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो । कप्तान रोहित शर्माले ७० रनको विस्फोटक इनिङ खेले भने सूर्यकुमार यादव ४० रनमा अविजित रहे ।
हैदराबादका जयदेव उनादकट, इशान मालिङ्गा र जिशन अन्सारीले समान रूपमा एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । सुरुआतमै कमजोर प्रदर्शन गरेको हैदराबादले १३ रनमै ४ विकेट गुमाएको थियो । उसका हेनरिक क्लासेनले ७१ रनको संघर्षपूर्ण इनिङ खेले ।
मुम्बईका तर्फबाट ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने दीपक चाहरले २ विकेट लिए ।
अब मुम्बईले ९ खेलमा १० अंक जोडेको छ । हैदराबाद भने ८ खेलमा ६ हार बेहोर्दै तालिकाको नवौं स्थानमा छ ।
आजको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स आमनेसामने हुँदैछन् ।

