धनगढी- कैलालीको धनगढीमा मंगलबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकमा सुपप्र ०१००२ त ४०१५ नम्बरको ट्याक्टरले सुपप्र ०१०११ प ८७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका–८ निवासी चौधरीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक गोदावरी नगरपालिका–९ निवासी २४ वर्षीय अजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैदिन राति धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँमा एयरपोर्टबाट राजपुरतर्फ जाँदै गरेको से ६ प ७०१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। धनगढी–४ निवासी २८ वर्षीय चालक लक्ष्मण चौधरी र मोटरसाइकलमा सवार रतीराम चौधरी घाइते भएका हुन्।
चालक लक्ष्मणको अवस्था गम्भीर रहेको जनाइएको छ। दुवैको नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

