काठमाडौं — राप्रपाका नेताहरू सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
तीनकुने घटनाको न्यायिक छानबिन र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको मागसहित पम्प्लेट बोकेर प्रदर्शन गरेका कारण अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो।
राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो। तर अध्यक्ष लिङ्देनलगायतका नेता सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थिए। त्यहाँ उनीहरूले पम्प्लेटसहित प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्ने प्रयास गर्यो।
पार्टी नेताहरू भने सिंहदरबारको दक्षिण गेट हुँदै बाहिर निस्केर तीनकुने घटनाको छानबिन र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा महामन्त्री धवलशम्शेर राणाको रिहाइको माग गर्न खोजिरहेका थिए। प्रहरीले पम्प्लेट खोसेर उनीहरूलाई त्यहीँबाट नियन्त्रणमा लियो।
राप्रपाका नेता दीपक सिंहले अध्यक्ष लिङ्देन र प्रमुख सचेतक शाही पक्राउ परेको पुष्टि गरे। आफू पनि त्यहीँ रहेका सिंह भने प्रहरीले समात्न खोज्दा उम्किएर प्रदर्शनस्थल बिजुलीबजार पुगेका थिए।

