काभ्रे— गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षाले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुर्याएको सात महिनापछि बल्ल विस्तृत क्षति मूल्यांकन सुरु भएको छ। सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्र रोशी गाउँपालिकाबाट विस्तृत क्षति आँकलन सुरु गरेको हो।
गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारमा तीन जना पीडित — धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीलाई निस्सा (प्रमाणपत्र) हस्तान्तरण गर्दै औपचारिक रूपमा क्षति मूल्यांकनको प्रक्रिया थालेका हुन्। मन्त्री लेखकले बाढीपहिरोपीडितको निजी आवास पुनर्निर्माणमा भएको ढिलाइप्रति असन्तोष जनाउँदै पुनर्निर्माण कार्यमा अब तीव्रता ल्याइने बताए।
सरकारले अस्थायी आवास निर्माणका लागि पहिलो चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि चरणबद्ध रूपमा अनुदान उपलब्ध गराउने जनाएको छ। यसका लागि बुधबार काभ्रेमा सात करोड ३५ लाख रुपैयाँ निकासा गरिएको छ।
विस्तृत क्षति मूल्यांकनका लागि १८ जना प्राविधिक खटाइएको डिभिजन कार्यालयले जनाएको छ। रोशी गाउँपालिकामा मात्रै पाँच सय ६३ घरमा क्षति पुगेको छ। तीनवटा क्लस्टर बनाएर त्यहाँ क्षति मूल्यांकनको काम अघि बढाइएको हो।
प्राविधिकहरूले स्थलगत निरीक्षण गरी विवरण तयार गरेपछि स्थानीय तहले त्यसको आधारमा पुनर्निर्माणका कार्यहरू अघि बढाउने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। सरकारबाट निजी आवास, पुल, भौतिक संरचना, तटबन्ध लगायत पूर्वाधार पुनर्निर्माणमा समेत सहयोग गरिने उनले बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टका अनुसार, पीडितले चाहेमा अस्थायी र स्थायी आवास एकैपटक बनाउन सक्ने व्यवस्था मिलाइनेछ। तर त्यसका लागि विस्तृत क्षति मूल्यांकन अनिवार्य हुने उनले स्पष्ट पारे।
असोजको बाढीपहिरोमा काभ्रेमा ८१ जनाको मृत्यु भएको थियो भने छ जना अझै बेपत्ताको सूचीमा छन्। काभ्रेका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका थिए। रासस

