बैतडी— बैतडीमा स्कुल बसको ढोकाबाट खसेर एक शिक्षकको मृत्यु भएको छ । शनिबार दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत २८ वर्षीय विष्णुराज भट्टको मृत्यु भएको हो। उनी बैतडीको दोगडाकेदार गाउँपालिका–४, कपिन्नाका स्थायी बासिन्दा हुन्।
विद्यार्थी भर्ना अभियान अन्तर्गत प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँ जाँदै गरेका बेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६, बाँगाबगरमा बसको ढोकाबाट खस्दा उनी गम्भीर घाइते भएका थिए।
गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
घटनापछि बस चालक शैल्यशिखर नगरपालिका–५ का उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

