कञ्चनपुर— कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीमा अन्ततः पुल निर्माण सुरु भएको छ।
यो पुल निर्माणका लागि २०७२ सालको पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार काम २०७५ को पुससम्म सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक समस्याका कारण निर्माण सुरु हुन ९ वर्ष लाग्यो।
डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार काम सुरु भएको बेला तीनवटा पिलर निर्माण भएका थिए। तर, पिलरको फाउन्डेसनमा समस्या देखिएपछि लागत नबढाउने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल सारिएको थियो।
‘फाउन्डेसनमै समस्या आएपछि पुल सार्नुपर्यो, अहिले तीव्र गतिमा काम भइरहेको छ, असारसम्म सक्ने योजना छ,’ सबइन्जिनियर रानाले बताए।
पुल निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। सम्झौताअनुसार अबको माघ महिनासम्म काम सक्नुपर्नेछ।
दोदा नदीमा पुल नहुँदा यहाँका स्थानीयवासी वर्षौंदेखि समस्या भोग्दै आएका थिए। बर्खायाममा नदी पार गर्न ज्यानै जोखिममा पार्नुपर्ने अवस्था रहँदै आएको थियो।
स्थानीय रघुवीर रानाका अनुसार, खोलामा पुल नहुँदा केही वर्षअघि लालझाडीका दुई जनाको ज्यान गइसकेको छ।
‘नदीपारि घर छ, वारिपट्टी खेतबारी। बर्खामा त ज्यान जोखिममा राखेरै खोलो तर्नुपर्थ्यो,’ उनले भने, ‘अहिले पुल आधा बनिसक्दा खुशी लागेको छ। रासस

