काठमाडौँ— विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौँमा आन्दोलनमा उत्रिएका शिक्षकहरूको संघर्ष १९ दिन पुग्दा पनि समाधान निस्किएको छैन।
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरे पनि सहमति नजुटेपछि शिक्षकहरूले आन्दोलन जारी राखेका छन्।
शिक्षा ऐन तत्कालै जारी हुनेमा सरकारबाट स्पष्ट आश्वासन नआएपछि आन्दोलनलाई निरन्तरता दिइएको हो। आन्दोलनका कारण माइतीघर–बबरमहल सडकखण्डमा यातायात सेवा प्रभावित हुँदै आएको छ।
शिक्षकहरूले आज बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन्, जसले कार्यालय समयमा झनै समस्या उत्पन्न गराउने देखिएको छ।
शिक्षक महासङ्घका अनुसार आज अर्को प्रदर्शनसमेत परेकाले प्रदर्शनको समय सारिएको हो। यसअघि उनीहरूले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए।

