काठमाण्डौ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले घरेलु टोली रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई ६ विकेटले पराजित गरेको छ।
बेङ्गलुरुले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा चार विकेट गुमाउँदै १६९ रन बनाएर पूरा गर्यो। दिल्लीका केएल राहुलले अविजित ९३ रनको शानदार पारी खेले भने ट्रिस्टन स्टब्सले अविजित ३८ रनको योगदान दिए। बेङ्गलुरुका भुवनेश्वर कुमारले दुई विकेट लिए।
त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलुरुले ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए। दिल्लीका विपराज निगम र कुलदीप यादवले समान २–२ विकेट लिए।
यो जितसँगै दिल्ली लगातार चार खेल जित्दै ८ अंकका साथ दोस्रो स्थानमा पुगेको छ। समान ८ अंकसहित रनरेटको आधारमा गुजरात टाइटन्स शीर्ष स्थानमा छ। पाँच खेल खेलेको बेङ्गलुरु ६ अंकसहित तेस्रो स्थानमा छ।
आईपीएलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स आमनेसामने हुँदैछन्।

