अछाम- अछामको बान्नीगढी जयगढमा आगलागीबाट नष्ट भएको क्षेत्रको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्थलगत निरीक्षण गरेका छन्। धनगढीबाट गएको टोलीमा आन्तरिक मामिला मन्त्री हिरा सार्कीसमेत सहभागी थिए।
मन्त्री खड्काले जलेका घर र पसलहरूको विवरण संकलन गर्नुका साथै पीडितहरूसँग भेटघाट गरेका थिए। बुधबार बिहान मन्त्रिपरिषद् बैठक सकेर उनी अछाम आएका हुन्। गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद र प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले क्षतिको जानकारी दिएका थिए।
मङ्गलबार साँझ भएको आगलागीबाट २३ घरभित्र रहेका ३५ पसल जलेर नष्ट हुँदा आठ करोडभन्दा बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ। तत्काल राहत व्यवस्थापन गरिए पनि दीर्घकालीन पुनःस्थापनाका लागि समन्वय भइरहेको छ।
अध्यक्ष साउँदले आगो नियन्त्रणमा सघाउने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, मङ्गलसेन नगरपालिकाको दमकल र स्थानीयवासीलाई धन्यवाद दिएका छन्। प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, एमाले अध्यक्ष चन्द्र बोहरा, प्रमुख जिल्ला अधिकारीलगायतले पनि घटनास्थलको अवलोकन गरिसकेका छन्। विभिन्न नेताहरूले पीडितलाई सहयोग गर्न अपिल गरेका छन्।

