अछाम— अछाममा दृष्टिविहीन महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। रामारोशन गाउँपालिका–५ का ५१ वर्षीय चेतमान रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार २१ वर्षीया जन्मजात दृष्टिविहीन महिलामाथि करणी गरिएको उजुरी प्राप्त भएपछि रोकायालाई पक्राउ गरिएको हो।
प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा उनी २८ हप्ताको गर्भवती रहेको पुष्टि भएको छ।
पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाबाट अपांग छन्। दुवै अपांगता भएका व्यक्ति विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा रोकायाले डर र धम्की देखाएर करणी गरेको आशंका प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

