बैतडी— बैतडीको शिवनाथ गाउँपालिका–१ मटेलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। ३९ वर्षीया विन्दरा साउँद मंगलबार दिउँसो १ बजे स्थानीय जंगलमा बाख्रा चराउँदै गर्दा चितुवाले आक्रमण गरेको हो।
स्थानीय दशरथ चाडका अनुसार चितुवाले सुरुमा बाख्रामाथि आक्रमण गरेपछि साउँदमाथि झम्टिएको थियो। घटनाका बेला उनीसँगै रहेका अन्य गोठालाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो।
आक्रमणबाट साउँदको टाउको, मुख र गर्धनमा चोट लागेको र उनलाई थप उपचारका लागि भारतको लुवाघाट लगिएको चाडले जानकारी दिए।
चितुवाको आक्रमणपछि स्थानीयबासी त्रसित बनेका छन्। तल्लो सौराड क्षेत्रमा २०६८ सालदेखि नै बेलाबेला चितुवाले मानिसमाथि आक्रमण गर्ने घटना दोहोरिंदै आएको छ।

