बझाङ- बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा अवस्थित ऐतिहासिक हात्तीसार दरबारको संरक्षणको पहल सुरु गरिएको छ। दरबारको संरक्षण र मर्मतसम्भारका विषयमा बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा छलफल उठेपछि शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, र पत्रकारहरूको सहभागितामा बृहत् छलफल सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले जानकारी दिए।
बैठकमा दरबारको तत्काल मर्मतसम्भार मात्र नभई दीर्घकालीन संरक्षणको योजना बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहराले बताए। नेपाली कांग्रेसका प्रवक्ता रमानन्द जोशीले हात्तीसार दरबारलाई सामाजिक तथा सांस्कृतिक केन्द्रको रूपमा पुनः विकास गर्नुपर्नेमा जोड दिए।
नेकपा एमालेका सचिव नयन बोहराले दरबारको ऐतिहासिक महत्व झल्किने गरी मर्मत गर्नुपर्ने बताए भने दरबारको सुरक्षा सुनिश्चित गर्न आवश्यक जनशक्ति परिचालनको पनि आवश्यकता औंल्याए।
छलफलपछि बैठकले डोटीस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयलाई दरबारको मौलिकता जोगाउँदै मर्मत कार्य अघि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ। सहभागीहरूले स्थानीय सरकार, जनसहभागिता र विशेषज्ञहरूको समन्वयमा संरक्षण कार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
छलफलमा जिल्ला उपप्रमुख कृष्णबहादुर विष्ट, रास्वपाका प्रयागराज जोशी, राप्रपाका पूर्वअध्यक्ष विश्वप्रकाश जेठारा, नेकपा एसका सचिव लक्ष्मीराज जोशीलगायतको उपस्थिति रहेको थियो।
विसं १९४५ तिर निर्माण भएको हात्तीसार दरबारमा लामो समयसम्म जिल्ला प्रशासन कार्यालय रहँदै आएको थियो। २०६९ सालमा कार्यालय नयाँ भवनमा सरेपछि दरबार बेवारिसे जस्तै बनेको थियो। ६ वर्षपछि मात्र संरक्षण प्रयास थालिएको हो।
बझाङका राजा जयपृथ्वीबहादुर सिंहले १९५१ सालतिर तराईबाट हात्तीको छावा ल्याएर दरबारमै राखेकाले यसको नाम हात्तीसार दरबार राखिएको हो। सालको काठ, ढुंगा र मासको गारो प्रयोग गरेर निर्माण गरिएको यो दरबार हाल संरक्षण अभावमा जीर्ण अवस्थामा पुगेको छ।

