धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटना प्रति सरकारी कर्मचारीहरू आक्रोशित भएका छन्।
बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका थिए ।
घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ।
गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै राष्ट्रिय कर्मचारी ट्रेड युनियनले विरोध जनाएको छ।
यस घटनाले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। कर्मचारी युनियनले दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।
युनियनका प्रतिनिधिहरूले यदि दोषीलाई कानुनी कारबाही नगरिए भविष्यमा यस्ता घटनाहरू अझै दोहोरिने खतरा रहेको बताएका छन्। साथै, सरकारी कर्मचारीहरूको सुरक्षाका लागि थप प्रभावकारी कदम चाल्न प्रशासनसँग माग गरिएको छ।
सरकारी कार्यसम्पादनमा अवरोध पुर्याउने, कर्मचारीमाथि दुर्व्यवहार गर्ने कार्य अमान्य र अक्षम्य रहेको भन्दै पीडित पक्षले न्यायको माग गरेको छ। प्रशासनले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।



