काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार भोलि थाइल्यान्ड भ्रमणमा जाने भएका छन् । थाइल्यान्डमा हुने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जाने भएका हुन् । अघिल्लो हप्ता नै मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण स्वीकृत गरिसकेको छ ।
प्रधानमन्त्री ओलीले भ्रमणको पूर्वसन्ध्यामा आइतबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राखेको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम् हितमा उपयोग गर्न सुझाव दिइएको छ । नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्याण्ड भ्रमण हुन लागेकाले पनि यसलाई थप महत्वका रुपमा लिएर मुलुकका लागि विविध क्षेत्रमा लाभ हासिल गर्न सुझाव दिइएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनी विदेश भ्रमणमा जानु अघिल्लो दिन मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको हो ।

