सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई संघीय सरकारअन्तर्गत ल्याई संघीय अस्पतालका रूपमा सञ्चालन गर्न नेपाल सरकारलाई पत्राचार गरेको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सेती अस्पताललाई संघीय अस्पतालमा रूपान्तरण गर्न अनुरोध गर्ने निर्णय गरेपछि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो। सोही निर्णयअनुसार, सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयबाट आवश्यक फाइल तयार गरी संघीय स्वास्थ्य मन्त्रालयलाई पठाइएको छ। आइतबार प्रदेश सरकारका प्रतिनिधिहरूले उक्त फाइल संघीय स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बुझाएका छन्।
प्रदेश सरकारले सेती अस्पताल संघीयकरण गर्दा गेटा अस्पतालमा विशिष्टिकृत सेवा प्रदान गर्न सहज हुने र गेटामा प्रस्तावित मेडिकल विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने जनाएको छ।
नेपाल फर्मास्युटिकल एसोसियसन, सुदूरपश्चिम प्रदेशका सचिव माहा ओम राज जोशीले हालको प्रदेश सरकारको बजेटले सेती अस्पताललाई धान्न नसक्ने भएकाले संघीय सरकार मातहत ल्याउने निर्णय अत्यन्त सकारात्मक रहेको बताए। उनले छिटोभन्दा छिटो प्रदेश सरकारको पत्रलाई केन्द्र सरकारले सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए।
हाल सेती प्रादेशिक अस्पताल ५० शय्याको क्षमतासहित सञ्चालनमा रहेको छ। अस्पतालमा विभिन्न पदमा गरी ५१३ जना कर्मचारी कार्यरत छन्। संघीयकरणको प्रक्रिया पूरा भएपछि अस्पतालको संरचना, सेवा र जनशक्ति व्यवस्थापन थप व्यवस्थित हुने विश्वास गरिएको छ।

