बझाङ- बझाङमा १५ दिने सिलाई कटाई सम्बन्धी पुनः ताजकिय तालिम सम्पन्न भएको छ।
फागुन २५ गतेदेखि सुरु भएको तालिम आइतबार दलित सहयोग समाजको कार्यालय सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो।
उक्त पुनः ताजकिय तालिम दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएको केदारस्यूँ गाउँपालिका वडा नम्बर २, ३, ६, ७ र ८ का १२ जना महिलाले पाएका छन्
पहिला सिलाइ कटाइ सम्बन्धि सामाग्री प्रदान गरिएका उक्त महिलालाई तालिम प्रदान गरिएको परियोजना संयोजक रमेश बहादुर मालीले जानकारी दिए । संयोजक मालीका अनुसार महिलाहरूलाई प्राविधिक ज्ञान र सीप सिकाएर उनीहरूलाई दक्ष बनाउनु तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको हो ।
तालिमबाट महिलाहरू प्राविधिक सीप सिक्दै समयको बचत गर्ने अवसर पाएका छन् । बचत भएको समय बालबालिकाको हेरचाह, स्वास्थ्य, शिक्षा र पोषण सुधारमा उपयोग गर्न प्रेरित गरिएको छ।
तालिममा सहभागी निशा नेपालीले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र दलित सहयोग समाजलाई धन्यवाद दिँदै भनिन्, “यस तालिमले हाम्रो क्षमता विकासमा सहयोग गरेको छ। अब महिलाहरू पनि सजिलै जीविकोपार्जन गर्न सक्षम हुनेछन्। अझ लामो समयको तालिम भए अझ राम्रो हुने थियो।”
कार्यक्रम समापन दलित सहयोग समाजका सह-सचिव श्याम नेपालीको अध्यक्षतामा भएको थियोे । कार्यक्रममा नागरिक समाजका अगुवा, दलित सहयोग समाजका कार्यकारी निर्देशक, परियोजना संयोजक तथा कर्मचारीको उपस्थिति रहेको थियो।
कार्यक्रमका अध्यक्ष नेपालीले समापन समारोहमा बोल्ने क्रममा “यस तालिमले महिलाहरूलाई सशक्त बनाउने बताए । परिवार र समुदायमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।”
उक्त तालिमले महिलाहरूको जीवनमा सहजता ल्याउने, आर्थिक रूपले सक्षम बनाउने र स्थानीयस्तरमा आत्मनिर्भरता बढाउने महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको बताउनु भएको थियो।

