धनगढी- डोटीमा एक स्थानीय तह रहेकै ठाउँमा खानेपानीको हाहाकार भएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र समेत रहेको वडा नम्बर २ खड्यौलीमा खानेपानीको हाहाकार भएको हो।
पालिकामा पानीको अभाव हुँदा अहिले २० किलोमिटर टाढा पर्ने नम्बर १ को बिपीनगरमा रहेको ठुली गाड बाट ट्याङ्करले पानी बोकेर दैनिकी चलाउनु पर्ने बाध्यता निम्त्याएको छ ।
देश संघीयतामा गए पश्चात् पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरूले भौगोलिक रूपमा बिकट, पहाडी क्षेत्र अवस्थित बडीकेदार गाउँपालिकाको मुकाम स्थापित गरेर आवश्यक भौतिक संरचना निमार्ण गर्नुका साथै खानेपानीको आपूर्तिका लागि पालिकाले २०७५ सालमा डिप बोरिङको योजना निमार्ण गरी सञ्चालनमा ल्याएको थियो । तर उक्त योजना निमार्ण भई सञ्चालनमा आएको ५ वर्ष पनि नचलि पानी पूर्ण रूपमा बन्द रहँदा खानेपानीको हाहाकार भएको जनाइएको छ । समस्या समाधानका लागि पालिकाले पटक पटक गरेर लाखौँ रुपैयाँ खर्च गरे पनि समस्या समाधान हुन सकेको छैन ।
डिप बोरिङको पानी बन्द हुँदा पालिका र आवास क्षेत्रमा खानेपानीको अभाव भई दैनिकी चलाउन साह्रै गाह्रो परेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढाले बताए ।

