दिपेन्द्र धामी- बझाङ ।
जिवनकाे दौरानमा लामो सास तान्छु, जीवनको युद्ध लड्ने सपना देखेर संघर्षरत संघर्षको मैदानमा उत्रिन्छु, सानो दुर्गम पहाडी गाउँमा जन्मिएकाले हाेला । बाल्यकाल साधारण तर सपनाहरू असाधारण थिए। मेरो परिवारले सधैं मेहनतको मूल्य बुझायो। बुवा-आमाको सपना थियो— राम्राे जागिरे भएको देख्ने यही प्रेरणाले मलाई अघि बढ्न सिकायो।
विद्यालय जाँदा बिहानै खेतबारीका काम सक्थें, किताबको भारी बोकेर उकाली-ओराली पार गर्थें। पढाइमा रुचि थियो, तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले कहिलेकाहीं पढाइलाई दोस्रो स्थानमा राख्नुपर्थ्याे।
तर जीवन सधैं सोचे जस्तै कहाँ हुन्छ र?
म आफ्नो लक्ष्य पूरा गर्ने यात्रामा थिएँ। दिनरात पढ्थें, मेहनत गर्थें। लोकसेवाको तयारीमा थिएँ। तर एकदिन, एउटा अप्रत्याशित घटनाले मेरो जीवनलाई अन्धकारतर्फ धकेलिदियो।
सोही दिन सामान्यजस्तै लागेको थियो। साथीहरूसँग काम विशेषले गाउँको बाटो हिंड्दै थिएँ। अचानक, एउटा गाडी अनियन्त्रित भएर मलाई ठक्कर दियो। होस गुमाएँ। जब आँखा खुल्यो, अस्पतालको शैय्यामा थिएँ।
मेरो शरीर शून्य जस्तै लागेको थियो। बिस्तारै चेत फर्किएपछि पहिलो प्रश्न मेरो मुखबाट निस्कियो— “मेरो खुट्टा खै?”
बुबा-आमाको आँखाभरि आँसु थियो। डाक्टरले भन्नुभयो, “हाम्रो प्रयासले तिमीलाई बचायो, तर तिम्रो बायाँ खुट्टा बचाउन सकिएन।” मैले साेचे मेरो जीवनको आधार नै हराएझैं लाग्यो। त्यो क्षण, मेरो भित्री संसार भत्कियो। सपना अधुरो भएझैं लाग्यो।पहिला म जुन मानिस थिएँ, त्यो अब रहँदैन भन्ने सोच आयो। म शारीरिक, मानसिक, भावनात्मक रूपमा कमजोर भएँ। प्रियजनहरू मेरो जीवनबाट टाढिन थाले। कोही दया देखाउँथे, कोही उपेक्षा गर्थे। तर समय परिवर्तनशील रहेछ। शरीर अपूर्ण भए पनि आत्मबल कहिल्यै अपूर्ण हुँदैन।
मैले आत्मनिर्णय गरें— म हार्ने छैन
मेरो लक्ष्य अझै जीवित थियो। तीन महिना अस्पताल बसाइपछि, म घर फर्किएँ। शरीर कमजोर थियो, हिँड्न पनि गाह्रो थियो, तर आत्मबल अझै बलियो थियो। अहिले मैले दुई विकल्प देखें— या त यो अवस्थालाई नियति सम्झेर चुप लाग्ने, या त यसलाई जितेर अघि बढ्ने। मैले दोस्रो बाटो रोजें।
लोकसेवाको सपना फेरि जाग्यो। बाध्यताले हारेन। बिहान बेलुका मिहिनेत गर्न थालेँ। शरीरले साथ नदिए पनि दिमागले दिन्थ्यो। परीक्षा तयारीका लागि कडा परिश्रम गरें। तीन वर्षसम्म अनवरत संघर्ष गरें। असफलता पनि भोगें। समाजका ती नजरहरू सहनुपर्यो, जसले मलाई “असक्षम” भन्ने शब्दले सम्बोधन गरे। तर मैले आफूलाई प्रमाणित गर्नुपर्ने थियो। अन्ततः मेरो परिश्रम रंग लियो। लोकसेवाको परीक्षा पास गरें। नाम सार्वजनिक हुँदा, मेरो आँखाबाट आँसु झर्यो। त्यो खुशीका आँसु थिए। अन्तर्वार्ताका लागि बोलाइयो। हिम्मत र आत्मविश्वासका साथ प्रस्तुत भएँ। अन्ततः, म सफल भएँ। आज म शिक्षक छु। मैले हिजो भोगेको संघर्षले मलाई अझ बलियो बनाएको छ।
म सफल भएपछि, ती सबै प्रियजनहरू, जो एक समय मबाट टाढिएका थिए, आज मलाई गर्वले सम्मान गर्छन्। जुन समाजले मलाई असक्षम भनेर हेप्थ्यो, आज सोही समाजले मलाई प्रेरणाको स्रोत मान्छ।
जीवन असहज मोडहरूबाट गुज्रिन्छ। चुनौतीहरू आउँछन्, तर तिनलाई जित्ने हिम्मत भए जीवन फेरि नयाँ सुरुवात गर्न सकिन्छ। खुट्टा गुमाएको भए पनि, मेरो सपना गुमेको थिएन। संघर्ष नै वास्तविक सफलता हो।

