साईपाल खेलकुदमा विवाद गरि खेल हुन नदिने राजेन्द्र धामी को हुन्?
बझाङ : साईपाल गाउँपालिकामा सम्पन्न हुँदै गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता एक विवादका कारण चर्चा केन्द्रमा रह्यो। यो विवादले केवल खेलकुदको माहोललाई मात्र बिगारेन साईपाल गाउँपालिकाको विकास र एकतालाई समेत धक्का दियो। यस विवादका केन्द्रमा रहेका छन् साईपाल गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला उपसचिव राजेन्द्र धामी।
धामीले खेलकुदजस्तो सकारात्मक गतिविधिलाई आफ्नो व्यक्तिगत गुनासो र राजनीतिक स्वार्थका लागि प्रयोग गरेर प्रतियोगितामा अवरोध पुर्याए। तर यो पहिलोपटक भने होइन। राजेन्द्र धामीको राजनीतिक जीवन अनियमितता, विवाद, र काण्डले भरिएको छ।
राजेन्द्र धामी २०७४ मा नेपाली कांग्रेसबाट साईपाल गाउँपालिकाको पहिलो अध्यक्ष निर्वाचित भए। तर उनको नेतृत्वको सुरुवातदेखि नै अनियमितताको आरोप लाग्दै आएको छ। बझाङ जिल्लामै सबैभन्दा धेरै बेरुजु निकाल्ने पालिका प्रमुखको रूपमा धामीको नाम चिनिन पुग्यो ।
उनको कार्यकालमा पालिकाको बजेट विकास निर्माणमा खर्च नभई अन्यत्र हिनामिना भएको स्थानीयहरूको गुनासो छ। धामीले विभिन्न भवन निर्माण, ठेक्कापट्टा, र योजना कार्यान्वयनमा पारदर्शिताको अभाव देखाएका थिए। गाउँपालिकाको रकम व्यक्तिगत स्वार्थमा प्रयोग भएको आरोप लाग्दा पनि धामीले कहिल्यै स्पष्टिकरण दिन आवश्यक ठानेनन्।
अध्यक्षको कार्यकाल समाप्त भएपछि पनि राजेन्द्र धामी साईपाल गाउँपालिकाका लागि खाद्यान्न ढुवानी गर्न ठेक्का लिन सफल भए। तर, उनले समयमै चामल र अन्य खाद्य सामग्री साईपालका दुर्गम बस्तीहरूमा पुर्याउन सकेनन्। यसको नतिजा स्वरूप साईपालका बासिन्दाहरूले खाद्यान्न अभावका कारण ठूलो कष्ट झेल्नुपर्यो।
“साईपाल जस्तो दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी जटिल भए पनि समयमै आपूर्ति हुनुपर्थ्यो। तर, धामीको नेतृत्वमा यस्तो कहिल्यै भएन। उनी जिम्मेवारी लिनुको सट्टा राजनीतिक पहुँच र प्रभावमा मात्रै निर्भर रहे,” स्थानीय एक व्यक्तिले भने।
हालै सम्पन्न हुँदै गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा धामीले देखाएको व्यवहारले उनको विवादास्पद चरित्रलाई फेरि उजागर गर्यो। प्रतियोगिताका दौरान धलौन र काँडा माध्यमिक विद्यालयका विद्यार्थीबीचको विवादलाई समाधान गर्न सहयोग गर्नुको सट्टा उनले उल्टो झगडालाई उक्साउने काम गरे।
धामीले “मलाई ढिला आसनग्रहण गरायो” भन्दै खेल क्षेत्रमा हस्तक्षेप गरे। सहमतिमा बसेको बैठकले खेलकुद पुनः सञ्चालन गर्ने निर्णय गरिसकेको अवस्थामा उनले आफ्नो व्यक्तिगत गुनासो अघि सार्दै धलौन माध्यमिक विद्यालयका विद्यार्थीलाई खेल्न रोक्न आदेश दिए।
प्रत्यक्षदर्शीका अनुसार, धामीले खेलकुद रजिस्टर च्यातेर “म देखाउँछु तिमीहरूलाई” भन्दै विद्यार्थीलाई धम्की दिए। यसपछि उनले धलौनका विद्यार्थीलाई रातारात खेल छोडेर घर फर्काए। यो घटनाले न केवल विद्यार्थीको मनोबलमा नकारात्मक असर मात्र नभई सिंगो समुदायमा असन्तोष फैलायो।
राजेन्द्र धामीमाथि समुदायलाई विभाजित गरेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने आरोप लागेको छ। काँडा, धुली, र धलौनका स्थानीय जनतालाई आपसमा जुधाउने, असहमति सिर्जना गर्ने र द्वन्द्व निम्त्याउने उनको प्रवृत्तिले स्थानीयहरू चिन्तित छन्।
“धामीजस्तो पूर्व जनप्रतिनिधिले विवाद मिलाउने काम गर्नुपर्ने हो। तर, उनी उल्टो समस्या सिर्जना गरेर आफ्नो राजनीतिक स्वार्थ अघि बढाउनमै केन्द्रित छन्,” धुलिका एक स्थानीय अभिभावकले भने।
खेलकुद विद्यार्थीहरूको शारीरिक, मानसिक, र सामाजिक विकासको प्रमुख आधार हो। तर, धामीले खेलकुदजस्तो सकारात्मक गतिविधिमा हस्तक्षेप गरेर यसको मर्ममाथि प्रहार गरेका छन्। राष्ट्रपति रनिङशिल्डजस्तो राष्ट्रिय स्तरको प्रतियोगितालाई अवरोध पुर्याउने उनको कदमले विद्यार्थी र शिक्षकहरूमा निराशा फैलाएको छ।
राजेन्द्र धामी नेपाली कांग्रेसका जिल्ला उपसचिवको भूमिकामा रहेका छन्। तर उनको विवादास्पद चरित्रले पार्टीको छविमा समेत नकारात्मक प्रभाव पारेको छ। खेलकुदजस्तो क्षेत्रमा राजनीति घुसाएर सामुदायिक एकतालाई भत्काउने धामीको यो कदमले उनको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
धामीको हस्तक्षेप र गतिविधिप्रति स्थानीयवासी आक्रोशित छन्। “हाम्रो बच्चाहरूको भविष्यमा राजनीति खेल्ने काम अब सह्य छैन। यस्तो व्यक्तिलाई सार्वजनिक जिम्मेवारी दिनु साईपालकै लागि घातक हो,” एक स्थानीय बासिन्दाले भने।
साईपालका स्थानीय जनताले राजेन्द्र धामीमाथि कडा छानबिन र कारबाहीको माग गरेका छन्। “यो कुनै साधारण गल्ती होइन। धामीले जानाजानी विद्यार्थीको अवसर खोस्न र समुदायलाई विभाजित गर्न भूमिका खेलेका छन्। अब यस्तो क्रियाकलापलाई बर्दाश्त गर्नु हुँदैन,” एक शिक्षकले बताए।
धामीको नेतृत्वले साईपाल गाउँपालिकाको छवि र समुदायको एकतामा गम्भीर धक्का पुर्याएको छ। अब यस्तो घटनाबाट पाठ सिक्दै राजनीतिक स्वार्थका लागि खेलकुदजस्ता सकारात्मक गतिविधिमा हस्तक्षेप नगर्न र जिम्मेवार नेतृत्व स्थापना गर्न स्थानीयवासी एकजुट हुन आवश्यक देखिएको छ ।

