बझाङ : बझाङको विकट साइपाल गाउँपालिकामा नुन अभाव चर्किएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै नुन ढुवानी नगर्दा स्थानीय बासिन्दाले ऐंचोपैंचो गरेर काम चलाइरहेका छन्। हिउँद सुरु भइसकेको र बाटो अवरुद्ध हुने सम्भावना बढेको हुँदा स्थिति झन् जटिल बन्ने देखिएको छ।
धुली गाउँकी मोतिमा रोकायाले गत वर्ष मंसिरमा खरिद गरेको नुनले पुससम्म मात्र धानेको बताइन्। अहिले नुन अभाव भएपछि छिमेकीबाट मागेर काम चलाउनु परेको छ। भेडाच्याङ्ग्रा र अन्य पशुचौपायाका लागि पनि नुन आवश्यक हुने भएकाले समस्या झन् गम्भीर बनेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले साउनमा बोलपत्र आह्वान गरेर ढुवानीकर्ताको छनोट गरिसकेको थियो। भदौमा ठेकेदारलाई सम्झौता गर्न आग्रह गरे पनि सम्झौता प्रक्रिया टुंगो लाग्न नसकेको ढुवानीकर्ता देउती बज्यै कन्ट्रक्सनले जनाएको छ।
“कर्पोरेसनले सम्झौता गर्न बोलाए पनि विभिन्न बहाना गरेर टारिरहेको छ,” कम्पनीका टोपनारायण चालिसेले भने। कर्पोरेसनका अनुसार ढुवानीसम्बन्धी मुद्दा अख्तियारमा परेकाले समस्या उत्पन्न भएको हो।
गत वर्ष मंसिरसम्म नुन ढुवानी भएको थियो, जसले यो वर्ष पुससम्म धानेको छ। तर, तत्काल ढुवानी नभए माघबाट अभाव गम्भीर हुने साल्ट ट्रेडिङ कर्पोरेसनका बझाङ डिपो प्रमुख नरबहादुर ढाँटले बताए।
यस वर्ष साइपालका लागि ९०० क्विन्टल नुनको कोटा छुट्याइएको छ। तर, सम्झौता नहुँदा जनतालाई अनिलो खानुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए।
साइपालका बासिन्दाले सरकारसँग छिटो नुन ढुवानीको व्यवस्था गर्न माग गरेका छन्। “जे भए पनि हामीले नुन त खान पाउनु पर्यो नि,” अध्यक्ष बोहराले भने।
२०७३ सालअघि साइपालका बासिन्दाले नुन प्रतिकिलो २५० रुपैयाँसम्म तिरेर किन्नुपर्थ्यो। त्यसपछि राज्यले अनुदानमा नुन उपलब्ध गराउँदै आएको भए पनि यस वर्ष ढुवानीमा भएको ढिलाइले समस्या निम्त्याएको हो।
साल्ट ट्रेडिङ कर्पोरेसनकी निमित्त प्रमुख शर्मिला शाक्यले प्रारम्भमा समस्या बुझ्ने बताए पनि त्यसपछि सम्पर्कमा नआएकोले कर्पोरेसनको धारणा अस्पष्ट छ। कान्तिपुर

